आजबाट कांग्रेसको प्रदेश अधिवेशन, हेटौंडामा बागमती प्रदेश अधिवेशन हुँदै
काठमाडौं, १६ मंसिर : नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा आजबाट प्रदेश अधिवेशन हुन लागेको हो ।
प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरमा, वाग्मती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुँदैछ ।
प्रदेश अधिवेशनका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ । जसअन्तरगत प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ मा रमेश रिजाल, वाग्मतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश अधिवेशन आयोजक समिति संयोजकको जिम्मेवारी पाएका छन् ।
नेपाली काँग्रेसको बागमती प्रदेशको उद्घाटन हेटौंडामा हुने भएको छ। काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनअन्तर्गत काँग्रेस बागमती प्रदेशको अधिवेशनको हेटौंडामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको प्रदेश अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए। कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहीबार बिहान ११ बजे हुने बताइएको छ।
प्रदेशको संरचनाअनुसार काँग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हुँदैछ। प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश सभापतिमा जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ । बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ ।
प्रदेश अधिवेशनमा प्रदेशसभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुने पार्टी विधानमा व्यवस्था छ ।
प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने कांग्रेसको विधानमा उल्लेख छ ।