कांग्रेस बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने इन्द्र बानियाँको घोषणा

मकवानपुर, १३ मङ्सिर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मंसिर १६ र १७ गते हेटौँडामा हुने प्रदेश अधिवेशनमा नेता बानियाँले सभापति पदमा उम्मेदवारी घोषणा गरी तयारी अघि बढाएका हुन्।

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बानियाँले प्रदेशका १३ वटै जिल्लामा कांग्रेसको सङ्गठन चुस्तदुरुस्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताए।

सकेसम्म सहमतिबाटै नसके निर्वाचनबाट भए पनि आफू सभापति बन्ने दाबी उनको थियो।सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेतृत्वसँग सहमति जुटाउनका लागि छलफल भएको पनि उनको भनाइ छ।

उनले आन्तरिक ढङ्गले छलफललाई अघि बढाउनुका साथै प्रदेश समितिमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुने गरी खाका तयार गरिरहेको उल्लेख गरेका छन्।

२०७० को संविधानसभा निर्वाचनमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनी २०७४ मा मकवानपुर सङ्घीय क्षेत्र २ को (ख) बाट प्रत्यक्षतर्फ बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

कांग्रेसबाट निर्वाचित २२ सदस्य रहेको प्रदेशसभामा बानियाँ सर्वसम्मत कांग्रेस प्रदेश संसदीय दलका नेता बनेका थिए। २०४४ देखि राजनीतिमा होमिएका उनी नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको अनुभव हासिल गर्दै २०७३ मा कांग्रेस मकवानपुरका सभापति भएका थिए।

२०७४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारीसमेत उनले सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.