एक लाख ९४ हजार अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ

कास्की, ११ मंसिर : कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखराका लागि आउँदै गरेको माइक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको रकम दुई करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शनिबार मुस्ताङ लो–घेकर दामोदरकुण्ड गाउँपालिका १ घर भएका ४४ वर्षीय छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले उनीबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

‘विगतको गतिविधि हेर्दा काठमाडौंबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्फत पोखरा आउने र प्लेन चढेर काठमाडौं जाने गरेको खुलेको छ । अरु अनुसन्धान भैरहेको छ,’ उनले भने । डलर बोकेर आएको भन्ने गोप्य सूचनाको आधारमा गुरुङलाई वडा प्रहरी कार्यालय गगनगौंडाले पक्राउ गरेको हो । उक्त रकम केका लागि ल्याइएको र कहाँ लगानी हुँदै थियो भन्ने प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.