तङ्ग्रिदै धुलिखेलको पर्यटन, जीपलाइन चढ्नेको घुँइचो
राजकुमार पराजुली । काभ्रे, १९ कार्तिक : कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको धुलिखेलको पर्यटन क्षेत्र दशैँपछि तङ्ग्रिएको छ । चाडबाँडको विदामा घुम्न जाने क्रम बढेसँगैँ धुलिखेल नगरपालिका–८ मा रहेको वल्ड वाइड एड्भेन्चरले सञ्चालन गरेको जीपलाइनमा पयंटकको घुँइचो लाग्न थालेको छ ।
जीपलाइनको ‘टेकअफ’ थाक्लेडाँडादेखि ‘ल्यान्डिङ स्टेशन’ पाँचखाल नपा–५ स्थित खावासम्म एक हजार १०० मिटर लम्बाइको छ । विसं २०७५ को अन्त्यबाट सञ्चालनमा आएको जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) तीन प्रकारको खेल खेल्न पाइन्छ ।
प्रक्षेपण गरिएअनुसार कोरोना तेस्रो लहर आउला–नआउला तर, कोरोना सङ्क्रमण दर सङ्ख्या निकै ओरालो लागेपछि हाल धुलिखेलमा होटल–पर्यटन तङ्ग्रने सुरसारमा रहेको देखिन्छ । “अब व्यवसायले रुप फेर्लाझैँ आशा जागेको छ, कोरोना तेस्रो लहरको चिन्ता पनि उत्तिकै त छ तर, हाल होटल–पर्यटन सहज बन्दै गएको छ”, उनले भने ।
पचास शय्याको क्षमतामा रहेका होटल सारथीले विभिन्न छुटसहितका प्याकेज कार्यक्रमसमेत सार्वजनिक गरेको छ । कोरोनाका दुईवटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा व्यहोर्न बाध्य बनाइरहेका बेला पुनः तेस्रो लहरको महामारी प्रक्षेपण हुने खतरा बढेको धुलिखेलका होटल व्यवसायी बताउँछन् । यद्यपि, व्यवसाय लयमा फर्कने बारे थप चिन्ताको भारी नबोकाएको भने हैन ।
कोरोनाको जोखिमपछि हाल पुनः बामे सर्दै गरेका होटल अब बन्द गर्न नपर्ने अपेक्षा गरेको क्षेत्रीय होटल सङ्घ (हान) का अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए । “अब सङ्क्रमण दर निकै घटेर होटल–पर्यटन व्यवसाय लयमा फर्कने भएपछि हामी निकै खुसी छौँ”, धुलिखेल लज रिसोर्टका सञ्चालक समेत रहेका श्रेष्ठले भने ।
दैनिक २०० को हाराहारीमा उनको रिसोर्टमा आन्तरिक÷बाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रो लहर वैशाखपछि साउनसम्म शून्यमै झरेको थियो । उनले भने, “अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दैछन्, अब विदेशी पर्यटकको पर्खाइमा छौँ ।” उनका अनुसार अध्यक्ष प्रचण्डले जीपलाइन खेल्दा धुलिखेलको पर्यटनको शान बढ्दै गएको छ ।
गत वर्षको कोरोना त्रासपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बनायो । धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । जिल्लास्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनाएको छ । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गत भदौ महिनामा विशेष तीन प्याकेजसमेत घोषणा गरेका थिए । गत साल कोरोना भाइरस सङ्क्रमण दर घट्दा होटल–पर्यटनमा बढेको चहलपहलको आभास यो वर्ष पनि भएको हानका सचिव ज्योत्स्ना सैंजूले बताइन् । “दोस्रो लहरपछि पुनः हाल आन्तरिक पर्यटक बढ्दै गएको छ, सरकारी खोप अभियानका कारण लयमा फर्कने अपेक्षाकृत छौँ”, होटल माउन्ट प्रिन्सेस्का सञ्चालक समेत रहेकी सैंजूले भनिन् ।
पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटरको दूरीमा अवस्थित छ । धुलिखेल राजधानीबाट नजिकको पर्यटकीय स्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौं, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दछन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पनि यही कात्तिक पहिलो साता धुलिखेलस्थित साहसिक खेल ‘जीपलाइन’मा रमाएका थिए । “पूर्वप्रधानमन्त्री दाहालले जीपलाइन चढेपछि यसमा चढ्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ, धुलिखेलमा जीपलाइन खेल छ भन्ने सन्देश पनि गएको छ”, वल्ड वाइड एड्भेन्चर प्रालिका अध्यक्ष केदार थापाले भने ।