नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना
काठमाडौं, २८ असोज : नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो ।सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौँ देवी हुन् । देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मनुष्य जुनसुकै कष्ट वा सङ्कटबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ । नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी, तेस्रो दिन शनिबार चन्द्रघण्टा, चौथो दिन आइतबार कुष्माण्डा, पाँचौँ दिन सोमबार स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना गरिएको थियो । यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकै दिन पूजा आराधना गनुपर्ने अवस्था आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।यसैगरी सातौँ दिन मङ्गलबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्नाका साथै दसैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो । आठौँ दिन बुधबार महागौरी देवीको पूजा आराधना गरिएको थियो भने नवरात्रको नवौँ एवं अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै छ ।