१० घण्टाको पोखरा-सिमरा यात्रा अब आधा घण्टामा

पोखरा, १५ भदौ : पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन ।

पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको गन्तव्य हो । नेपाल भित्रने अधिकांश भारतीय पर्यटकहरू रक्सौल नाकाबाट आउने गर्दछन् । नजिकै सिमारा विमानस्थल रहेर पनि पोखरा-सिमरा सिधा उडान नहुँदा सामान्य अवस्थामा पनि झन्डै १० घण्टाको गाडीको यात्रा बाध्यता जस्तै बनेको थियो ।

भारतीय पर्यटक भित्रने मुख्य नाका रक्सौल नजिकै रहेको सिमरा विमानस्थलबाट पोखरा सिधा हवाई उडान आवश्यक भएको आवाज समय-समयमा उठ्ने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन।

भारतीय पर्यटकलाई अधिकतम भित्र्याउनुका साथै आन्तरिक पर्यटनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यका साथ पोखरा-सिमरा सिधा उडान हुन लागेको र बुद्ध एयरले उक्त उडान भर्ने भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

‘पोखरा–सिमरा सिधा हवाई सम्पर्क गण्डकी प्रदेश र प्रदेश नं २ लाई जोड्ने महत्वपूर्ण माध्यम पनि हो,’ उनले भने, ‘कोरोना प्रभावित पर्यटनलाई आन्तरिक रुपमा पनि सबल बनाउनका लागि यो उडान महत्वपूर्ण बन्ने अपेक्षा गरेका छौँ ।’

​वीरगञ्ज देशको प्रमुख व्यापारिक नाका हुनाका साथै नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जसमेतका कारण यी क्षेत्रसँग पर्यटकीय नगरी पोखरासँगको पर्यटकीय साइनोलाई समेत सिधा उडानले महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

बुद्ध एयरले पोखरा-सिमरा उडान हप्ताको तीन दिन गर्न लागेको पोखरास्थित बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । उनका अनुसार प्रत्येक हप्ता आइतबार, बुधबार र शुक्रबार उडान तालिका राखिएको छ । उडान हुने दिन दिनको १२:२० बजे पोखराबाट सिमरातर्फ उडान हुने छ भने सो जहाजले १:१५ बजे सिमराबाट यात्रुहरू पोखरा ल्याउनेछ ।

उडानले पोखरा आउन चाहने भारतीय पर्यटकका साथै पोखराबाट वीरगञ्ज र रक्सौल नाका हुँदै भारतका विभिन्न सहर जान चाहने व्यक्ति तथा पर्यटक सबैलाई लाभ पुग्ने विश्वास लिइएको उनले बताए ।

कास्की जिल्लासहित स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दीलगायत स्थानबाट बीरगञ्ज लगायतका स्थानमा मानिस बसाइ जाने गरेका कारण पनि ती व्यक्तिसमेत लाभान्वित हुने भएका छन् ।

बुधबारदेखि उडान थाल्ने बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने तयारी गरेको छ । यस रुटमा आवतजावत गर्न चाहनेका लागि बुद्ध एयरले तीन किसिमको भाडादर तोकेको छ । यसमा सबैभन्दा महँगो टिकटको भाडादर रु सात हजार एक सय ७० छ ।

त्यस्तै मध्यमस्तरको टिकटको भाडादर रु पाँच हजार दुई सय ७० छ भने सस्तो चार हजार सात सय ७० भाडादर रहेको स्टेशन म्यानेजर बरालले जानकारी दिए ।

यसैबीच आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रमअन्तर्गत भोलिदेखि हुने पोखरा–सिमरा पहिलो उडानमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी हुने भएको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए ।

पहिलो उडानमार्फत सिमरा पुगेपछि नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा त्यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा जनप्रतिनिधिसँग आन्तरिक पर्यटन पुनरुत्थान लगायतका विषयमा छलफल एवम् अन्तरक्रिया गरिने कार्यक्रम तय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.