‘पदको लडाईं होईन, म अध्यक्ष छोड्न तयार छु’ : माधव नेपाल
काठमाडौं, १२ भदौ : नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गरेका छन् ।
पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्त्व छोड्न तयार रहेको घोषणा समेत उनले गरे ।
आफ्नो पार्टीनिकट पेसागत महासंघ, नेपाल वाग्मती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटक–पटक दोहोर्याए ।
“आउनुहोस्, दोस्रो पुस्तालाई नेतृत्त्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भइहाल्छु । अनि, केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाइँ होइन यो,” उनले भने, “विचारको लडाइँ हो यो । सिद्धान्तको लडाइँ हो यो । मूल्य र मान्यताको लडाइँ हो यो ।”
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी गठन गर्नुपरेको उनले तर्क गरे । आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।
“खाली कुप्रचारबाहेक केही पनि छैन । यस्ता झुटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस्,” उनले भने, “उनीहरूको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो । मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो । यस्ता प्रवृत्ति भएका मान्छेहरू इमानदार, क्रान्तिकारी कम्युनिस्ट हुन सक्छन् ?”
अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भई काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताए । सो अभियानमा पदलोलुप नभई काम गर्न उनले पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।
नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपालले आफूलाई साथ छाडेका दोस्रो तहका नेताहरुले दुई वटा पार्टी दर्ता गराएको खुलासा गरेका छन् ।
‘उहाँहरुले नयाँ पार्टी बनाइ हालौँ, बनाइ राखौँ कुनै बेला पनि घोषणा गर्नुपर्छ भनेपछि अर्को पार्टी दर्ता गरेका थियौँ।’ पार्टी निकट पेशागत महासंघ नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने,’कलम चिह्नवाला नेकपा एकीकृत र नेकपा लोकतान्त्रिक पनि दोस्रो पुस्ताले खोलेका हुन् । अनि अहिले अर्को पार्टी खोल्न मिल्छ? भनेर भन्ने ?
केपी ओलीले बार्दलीबाट भुकि सकेपछि सच्चिएका हुन् ? भन्ने प्रश्न गर्दै अध्यक्ष नेपालले थपे, ‘मोटरसाइकल र्याली गरिसकेपछि ‘बा’ राजनेता केपी ओली रे!’
आफूले पदका लागि कहिल्यै पनि लडाईं नगरेको स्पष्ट पार्दै दोस्रो पुस्ताको नेताहरु तयार भए आफू नेतृत्व हस्तान्तरण गर्न तयार भएको समेत बताए।