साफ च्याम्पियनसिप : नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग भिड्ने

काठमाडौं, २ भदौं :  आगामी अक्टोबरमा माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक भएको छ । नेपालले उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सको सामना गर्नेछ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अक्टोबर १ देखि १३ सम्म हुने प्रतियोगिताको तालिका बुधबार सार्वजनिक गरेको हो । पाँच राष्ट्र सहभागी साफमा यस पटक भुटानले कोरोना महामारीको कारण देखाएर सहभागी नहुने भएको छ भने पाकिस्तान प्रतिबन्धका कारण खेल्न पाउने छैन ।

आयोजक माल्दिभ्ससँग नेपालले १ अक्टोबरमा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा प्रतिस्पर्धा गर्ने छ । ३ अक्टोबरमा हुने दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ। तेस्रो खेलमा नेपालले ८ अक्टोबरमा भारतको सामना गर्नेछ ।

नेपालले लिग चरणको अन्तिम खेल ११ अक्टोबरमा बंगलादेशसँग खेल्ने छ । लिग चरणको शीर्ष स्थानमा रहने दुई टोलीबीच उपाधीका लागि १३ अक्टोबरमा फाइनल खेल हुनेछ ।

सहभागी पाँच राष्ट्रबीच राउण्ड रोविनमा खेल हुनेछ र शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल अक्टोबर १३ मा हुनेछ । सबै खेल मालेस्थित नेशनल फुटबल स्टेडियममा हुनेछ ।

नेपालले साफका लागि अहिले पोखरामा प्रशिक्षण गरिरहेको छ । साफ अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

साफको १३ औं संस्करणमा नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु :

किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर,नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी,विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.