अनलाइन फारम भरेकालाई दिन थालियो अस्ट्राजेनिका खोपको पहिलो मात्रा
काठमाडौं, २ भदौं : स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको अस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ। विद्युतीय फारम दर्ता गरेका सर्वसाधारणलाई कार्यालयले अस्ट्राजेनिकाको पहिलो मात्रा दिन थालिएको हो।
कार्यालय प्रमुख बद्रीबहादुर खड्काले विद्युतीय फारम दर्ता गरेका सर्वसाधारणलाई भदौ १ देखि खोप लगाउन थालेको जानकारी दिए। जापान र भूटानबाट आएको अस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाएर बाँकी रहेको खोपको पहिलो मात्रा सर्वसाधारणलाई लगाउन थालिएको हो।
भुटानबाट २ लाख ३० हजार र जापानबाट ५ लाख १३ हजार मात्रा अस्ट्राजेनिका खोप नेपालले पाएको थियो। ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका करिब साढे १४ लाखलाई दोस्रो मात्रामा भूटान र जापानबाट पाएको अस्ट्राजेनिका खोप लगाइएको थियो।
स्वास्थ्य सेवा विभागका खोप तथा बाल स्वास्थ्य शाखा प्रमुख डा. झलक शर्मा गौतमले सबै ज्येष्ठ नागरिकले दोस्रो मात्राका रूपमा अस्ट्राजेनिका नलगाएका हुनाले बाँकी रहेको हुनसक्ने बताए।
काठमाडौं जिल्लाका सबै स्थानीय तहमा खोप लगाउन थालिएको छ। कार्यालयका अनुसार काठमाडौं महानगरका ५ खोप केन्द्र तथा कीर्तिपुर, तारकेश्वर, नागार्जुन, बूढानीलकण्ठ, कागेश्वरी–मनहरा, टोखा र गोकर्णेश्वर नगरपालिकामा एक/एक खोप केन्द्र तोकिएको छ।
महानगरपालिकामा राधास्वामी आइसोलेसन सेन्टर, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पताललाई खोप केन्द्र तोकिएको छ।
कार्यालयले महानगरपालिकामा आवश्यकताअनुसार खोप केन्द्र थप्ने जनाएको छ। अहिलेसम्म नेपालमा ४७ लाख ६४ हजार ८ सय ६५ जनाले पहिलो मात्रा र ३५ लाख ८६ हजार ६ सय ७३ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन्।