किशोरी मृत्यु प्रकरण : सर्लाहीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

लालबन्दी, २ भदौं : सर्लाहीको लालबन्दी–१७, रानीगन्जमा तीन दिनदेखि बेपत्ता युवती मंगलबार राति मृत भेटिएपछि उनका परिवार र आफन्तले बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

उनीहरूले इलाका प्रहरी कार्यालय लालबन्दी अगाडि राजमार्ग अवरुद्ध गरेका हुन् । किशोरीलाई बलात्कार गरी हत्या गरिएको दाबी गर्दै उनीहरूले दोषीलाई कारबाहीको माग गरेका छन् ।

आक्रोशित स्थानीयले मध्यान्ह १२ बजेदेखि नाराबाजीसहित टायर बालेर राजमार्ग अवरुद्ध गरिरहेका छन् ।

रानीगन्ज डाँडाटोलका राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका साउन ३१ गते राति बेपत्ता भएकी थिइन् । उनको शव घरभन्दा करिब ३ किलोमिटर टाढा लालबन्दी–६ स्थित कालिन्जोर खोलामा भेटिएको थियो ।

प्रियंकाको मृत्यु शंकास्पद देखिएको भन्दै दुई युवकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

मृत फेला परेकी प्रियंकाको हत्या गरेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १७ का १८ बर्षीय किसन साह र १९ बर्षीय अनिष दाहाल रहेको प्रहरीले जनाएको छ । दुबै जनाले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारेको डीएसपी बुढाथोकीले जानकारी दिए ।

‘प्रियंकाको हत्या गरेर शव गाडेको दुबैले स्वीकार गरेका छन्’ डीएसपी बुढाथोकीले भने, ‘हत्याको कारण खोज्ने प्रयास भइरहेको छ ।’

किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.