आज साउनको अन्तिम सोमबार
काठमाडौं, ३२, साउन : आज साउन महिनाको अन्तिम सोमबार । हरेक सोमबार ब्रत बसेर भगवान शिवको पूजा गर्दै आएका ब्रतालुहरुले आज विधिपूर्वक ब्रत समाप्त गर्दैछन् ।
साउनको हरेक सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लाग्ने गरे पनि गत वर्षजस्तै यसवर्ष पनि कोरोना महामारीका कारण मठ मन्दिर खुलेका छैनन् । यद्यपी श्रद्धालुहरु बाहिरैबाट दर्शन गर्नका लागि पशुपतिलगायतका शिवालयमा पुग्ने गरेका छन् ।
साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका काम गर्ने गर्दछन् । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन् ।