प्रवेशपत्रका आधारमा विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु

काठमाडौं, २८ साउन : सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रबाट प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई बिहीबारदेखि खोप दिन शुरु गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले पाँचवटा केन्द्र तोकेर अस्ट्राजेनिका खोप दिन लागेको हो ।

परीक्षार्थीलाई खोप लगाउनका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, छाउनीस्थित नेपाली सेनाको अस्पताल, महाराजगन्जस्थित नेपाल प्रहरीको अस्पताल, मीनभवनस्थित निजामती अस्पताल र सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई खोप केन्द्र तोकिएको छ ।

उनीहरुलाई प्रवेशपत्र हेरेर यही साउन ३० गतेसम्म खोप दिइने कार्यालय प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

त्रिविले सञ्चालन गर्ने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय बुधबारको सचिव स्तरीय बैठकले गरेको थियो ।

स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले उपत्यका बाहिरका विद्यार्थीले भने नजिकैको खोप केन्द्रमा गएर प्रवेशपत्रको आधारमा खोप लगाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.