लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत
बुटवल, २७ साउन : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।
आफूविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशनको बैठक चलिरहेका बेला पोखरेलले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए ।
प्रदेश प्रमुख शेरचनले उनको राजीनामा स्वीकृत गर्दै अर्को प्रदेश मन्त्रिपरिषद गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई नै कार्यभार बहन गर्ने गरी तोकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
लुम्बिनीमा २२ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई न्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजेभित्र दावी पेश गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो ।
तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गरेका हुन् ।
हेर्नुहोस् पत्र