नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त
काठमाडौं, २७ साउन : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । घिसिङले आज नियुक्तिपत्र बुझ्ने उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूषालको सचिवालयले जनाएको छ ।
२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएकोमा सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको हो ।
नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई फेरी जिम्मेवारी दिन सर्वत्र माग भएको थियो तर यसअघिको केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थिएन । कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई जिम्मेवारी दिइएको थियो । कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनाउन माग गर्दै त्यतिबेला सडक प्रदर्शनसमेत भएका थिए ।
घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद सचिव सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय सरकारले गरेको छ ।