काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियान फेरि सुरु

काठमाडौं, २६ साउन : काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियान फेरि सुरु गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अभियान प्रभावकारी बनाउन मंगलबार स्टिकर टाँस्न थालेको छ ।

उपत्यकामा ०७४ वैशाख १ गते हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्यसपछि सवारीसाधन चालकहरूले आवश्यक नपरी हर्न बजाउन कम गरेका थिए । पछिल्ला दिन क्रमशः हर्न बजाउने क्रम बढ्दै गएकाले प्रहरीले फेरि अभियान सुरु गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराइले बताए।

महाशाखाले ‘नो हर्न’ स्टिकर चालकले देख्ने गरी सवारीधानको अगाडिको सिसामा टाँस्न थालेको छ । महाशाखा प्रमुख एसएसपी भट्टराइले अभियान प्रभावकारी बनाउन आजैबाट उपत्यकाका ३८ ट्राफिक कार्यालयले एकसाथ ५० हजार स्टीकर टाँसेर अभियान थालेको जानकारी दिए ।

उनले केही समययता हर्नको अनावश्यक प्रयोग बढ्दै गएको अनुभूति गरी थप कडाइ गर्न थालिएको बताए । उनले भने, ‘अति आवश्यक नपरी हर्न नबजाउन पनि अनुरोध गर्दछु, अनावश्यक रूपमा हर्न बजाउँदा ध्वनि प्रदूषण हुन्छ ।’ जथाभावी र आवश्यक नपरी हर्न बजाएको पाइएमा कारबाही गरिने चेतावनी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.