साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने

काठमाडौं, २५ साउन : साफ च्याम्पियनसिपको १३ औं संस्करण आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिले नेपाल र माल्दिभ्सले प्रतियोगिता आयोजनाका लागि गरेको प्रस्तावको समीक्षापछि अन्ततः सोमबार माल्दिभ्सलाई चयन गरेको हो ।

च्याम्पियनसिप १ देखि १५ अक्टोबरसम्म आयोजना हुनेछ । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो । यसअघि बंगलादेशमा प्रतियोगिता हुने तय भए पनि बंगलादेशले कोभिडको कारण देखाउँदै प्रतियोगिता गर्न नसक्ने जानकारी गराएको थियो ।

त्यसपछि साफले आयोजना गर्न उत्सुक रहेको नेपाल र माल्दिभ्सलाई विस्तृत प्रस्ताव पठाउन भनेको थियो । नेपालले सोहीअनुसार करिब १० करोड रकमसहित विस्तृत प्रस्ताव साफमा पठाएको थियो ।

एन्फाले नेपाल सरकारले ५ करोड दिने सुनिश्चित गरेकाले अर्थमन्त्रालयलाई धन्यवादसमेत दिएको थियो । माल्दिभ्सले पनि एक साताअघि विस्तृत प्रस्ताव पठाएको थियो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले कोभिड–१९ को असर नेपालमा भन्दा माल्दिभ्समा कम रहेकाले पनि आयोजकका रुपमा माल्दिभ्स चयन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.