खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, २१ साउन : नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।

खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने  छ ।

बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

देउवालाई विश्वासको मत नदिएका खनाल-नेपाल समूहका नेताहरू सरकारमा जान नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।

यही द्वन्द्वकाबीच औपचारिक निर्णय गर्न खनाल-नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको हो । खनाल-नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् ।

राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । ‘राजनीतिक घटनाक्रमबारे समीक्षा र सुझाव लिन बैठक बोलाइएको हो’, उनले भने ।

अध्यक्ष केपी शर्मा ओलीले भने आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखिसकेका छन् । ओलीले माधव समूहले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति भने आपत्ति जनाएका छन् ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.