‘ए’ डिभिजन लिग फुटबल कात्तिक २९ बाट, विजेताले ७५ लाख पाउने
काठमाडौं, १८ साउन : ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो ।
एन्फाले नयाँ मिति अनुसार लिग कात्तिक २९ गतेबाट सुरु हुने जनाएको छ । यसअघि एन्फाले शीर्ष लिग असोज ३ गतेबाट सुरु गर्ने जनाएको थियो ।
असोजबाट कात्तिकका लागि सारिएको सहिद स्मारक ए डिभिजन लिग विजेताको पुरस्कार राशि बढाइएको छ ।
विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने बताएको छ । एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेको हो ।
यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै एन्फाले क्लबलाई तयारी खर्चका लागि २०/२० लाख समेत उपलब्ध गराउने छ । यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग शुरु हुने मिति पछि सारेको छ ।
परिवर्तन गरिएको तालिकाअनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ । ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । सोही छलफलबाट सहभागी क्लब लिग खेल्न सहमति भएको जनाएको हो । यसअघि ललितपुरका चार क्लबले महामारीलाई कारण दिएर असोज ३ बाट लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए ।
अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग सारिएको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेस गरिसकेको छ ।
