एकताको प्रयासलाई निरन्तरता दिने केन्द्रीय कमिटी बैठकको निर्णय
काठमाडौं, ७ साउन : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बिहीबारको केन्द्रीय कमिटी बैठकले एमाले एकताको प्रयासलाई थप निरन्तरता दिने र यसका लागि पार्टी अध्यक्षको तर्फबाट पार्टीका सबैलाई समेट्न अधिकतम प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतालाई सुदृढ पार्नका लागि एकतामा आउन चाहानेहरुलाई विगतका गल्तिहरुलाई बिर्सेर स्वागत गर्न सकिने बताए । ‘पार्टीको एकतालाई कायम राख्नको निम्ति भइरहेको प्रयासका बारेमा हामीले छलफल गरेका छौं’ ज्ञवालीले भने,‘यो प्रयासलाई अँझ थप निरन्तरता दिने र कमसेकम नेतृत्वको तर्फबाट पार्टीका सबै साथीहरुलाई समेट्न अधिकतम् प्रयत्न गर्ने निष्कर्ष निकालिएको छ ।’
एकताको लागि प्रयासहरु जारी राख्ने र बाटो बिराएका, आन्दोलनको अहित हुनेगरी गतिविधिमा संलग्न भएकाहरुलाई कमी, कमजोरी सच्याएर आउन अपिल गर्दै बैठक सकिएको उनले बताए ।
सोमबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ । बैठकमा पार्टी अध्यक्ष ओलीले नेता कार्यकर्तालाई जनताको नजरमा आदर्श बनेर जनताले विश्वास र भरोसा गर्ने नेतृत्वको रुपमा स्थापित हुन निर्देशन दिए । जनताले आलोचना गर्ने खालका कुनै गतिविधि नगर्न पनि अध्यक्ष ओलीले निर्देशन दिए ।






