बाढी–पहिरोले आठ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं, २ साउन : यस वर्षको मनसुनमा हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी–पहिरोका कारण क्षति पुगेको पाइएको हो ।

विभागका अनुसार ती आयोजनाको क्षमता २०८ मेगावाट रहेको छ । विभागका अनुसार गत जेठ ३१ गते र असार १ गते लम्जुङको दोर्दीखोलामा आएको बाढी तथा पहिरोका कारण १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।

यस्तै, २७ मेगावाट क्षमताको हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको दोर्दीखोलामा समेत क्षति पुगेको छ । विभागका अनुसार २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’मा समेत क्षति पुगेको छ । सो नदी करिडोरमा निर्माण भइरहेका कुल चार आयोजनामा क्षति पुगेको विभागको अध्ययनमा देखिएको छ ।

यस्तै, कलंगाखोला जलविद्युत् आयोजनामा समेत बाढीका कारण क्षति पुगेको छ । सो आयोजनामा समेत गत जेठ ३१ गते र असार १ गतेको बाढी–पहिरोले क्षति पुर्‍याएको हो । सो आयोजनाको क्षमता १५.३३ मेगावाट छ ।

विभागका अनुसार बाढी, पहिरोका कारण २४ मेगावाट क्षमताको मादमेखोला, ७.२७ मेगावाट क्षमताको याम्लिङखोला र ४४ मेगावाट क्षमताको सुपर मादीमा समेत ठूलो क्षति पुगेको छ । सो आयोजनाको निर्माण सामग्री र उपकरण बाढीले बगाएको छ ।

यस्तै, बाँधस्थल तथा कफर ड्याममा समेत क्षति पुगेको छ । बाढीको पानी निर्माणाधीन विद्युत्गृहमा पसेको थियो भने प्रसारणलाइनमा सामान्य क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले बाढी–पहिरोका कारण क्षति पुगेका आयोजनालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.