उपत्यकामा निषेधाज्ञा १० दिन थप, लामो दूरीका सवारी अझै खुलेनन् (आदेश सहित)

काठमाडौं, ३१ असार : काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप भएको छ । निषेधाज्ञा थप गर्दा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पसल खोल्ने समय एक घण्टा थप गरेको छ ।

असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमता भन्दा बढी नहुनेगरी सञ्चालन गर्न पाइनेछन् ।

अत्यावश्यक काम विशेषले उपत्यका भित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई चल्न दिने अनुमति प्रशासनले गरेको छ । निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउनेछन् ।

यद्यपी उपत्यकाबाट बाहिरिने र भित्रने लामो दुरीका सवारीसाधान चलाउन नपाइने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार लामो दूरीमा यातायात सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि नै लामो दूरीको यातायात चलाउने प्रस्ताव कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाइसकेको र बिहीबार सीसीएमसीले मन्त्रिपरिषदमा पठाएको जानकारी आएको उनले बताए ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भइरहेको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पास लिएर आउने गाडी उपत्यका प्रवेश गरिरहेको सिडिओ पराजुलीले बताए । ‘तर देशभरिको यातायात सञ्चालनको विषय हुनाले मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ’ उनले भने ।

हेर्नुहोस् आदेश

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.