सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी
काठमाडौं, २४ असार : युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट ठूलो रकम अवैध ढङ्गले बाहिरिने गरेको सम्बद्ध अधिकारी बताउँछन् ।
युरो कप र कोपा अमेरिका फुटबल प्रतियोगिताजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई मनोरञ्जनका रूपमा भन्दा अवैध आम्दानीको आधार बनाउनेहरूका कारण अनलाइन ठगी अपराध बढ्दै गएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले सट्टेबाजी तथा अनलाइन जुवामा संलग्न रहेको अभियोगमा आइतबार आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरू अधिकांश उद्योगी व्यवसायी हुन् । उनीहरू अवैध आर्जनका लागि यस्तो अपराधमा संलग्न हुने गरेको दाबी प्रहरीको छ ।
“खेलाउनेहरू सबै विदेशी हुन्छन्, उनीहरू खेल्ने कसैको पनि प्रत्यक्ष सम्पर्कमा आउँदैनन्, एपबाट खेलाउँछन् र इलेक्ट्रोनिक पेबाट रकम लिन्छन्, खेल्ने र खेलाउनेबीच एजेन्ट (दलाल)हरू कमिसन लिएर प्रयोग हुन्छन्”, कोइरालाको भनाइ छ ।
युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतियोगितामा सट्टेबाजी लगाउने मुख्य सञ्चालक भारतीय नागरिक आदित्य भन्ने रेड्डी अग्रवाल भएको प्रहरीको आरोप छ । होटल र्याडिसनका सञ्चालक आदित्यले सविता बस्नेत नाम गरेकी युवतीलाई प्रयोग गरी अनलाइन बेटिङ खेलाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार एक लाख रुपियाँभन्दा माथिको सट्टेबाजीमा सम्पन्न, व्यापारी तथा सयदेखि हजार दरका सट्टेबाजीमा धेरैजसो नेपाली युवाको सहभागिता देखिएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
