कोपा अमेरिका : पाराग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा

काठमाडौं, १९ असार : साविक उपविजेता पेरु ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै पेरु सेमिफाइनल पुगेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा पुगेको थियो।

पेनाल्टी सुटआउटमा पेरूका जियानलुका लापडुला, भिक्टोर योटुन र रेनाटो टापियाले गोल गर्दा स्याटियागो ओर्मिनो र क्रिस्टियन क्युभा भने चुकेका थिए।

पराग्वेका लागि एन्जल रोमोरो, जुनियर अलोन्सो र रोबर्ट पेरिसले गोल गर्दा ब्रयान सामुडियो र हेक्टर मार्टिनेजले भने गोल गर्न सकेनन् ।

पेनाल्टी सुट आउट पनि समान ३-३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो ।
सडन डेथमा पेरूका मिगुइल ट्राउकाले गोल गर्दा पराग्वेका एल्बर्टो स्पिनोलाले गोल गर्न नसक्दा टोली क्वार्टरफाइनलबाटै घर फर्कनुपर्‍यो।

यसअघि ओलिम्पिको फुटबल मैदानमा शनिबार बिहान भएको खेलको ११ औँ मिनेटमा गुस्ताभो गोमेजले गोल गर्दै पराग्वेलाई सुरूवाती अग्रता दिलाएका थिए।

२१ औँ मिनेटमा गोमेजले नै आत्मघाती गोल उपहार दिँदा खेल १-१ गोलको बराबरी आयो।

त्यसपछि ४० औं मिनेटमा जियानलुका लापडुलाले गोल गर्दै पेरूलाई २–१ को अग्रता दिलाए।  पहिलो हाफको थप गरिएको समयमा पाराग्वे १० खेलाडीमा सीमित भयो । उसका गुस्ताभ गोमेज दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाड्न बाध्य बने ।

दोस्रो हाफको ५४ औँ जुनियर अलोन्सोले गोल गर्दै पाराग्वेलाई २-२ को बराबरीमा ल्याए । ८० औँ मिनेटमा योटुनले गोल गर्दै पेरुलाई पुनः ३-२ को अग्रता दिलाए।

खेल सकिन ५ मिनेट बाँकी हुँदा पेरु पनि १० खेलाडीमा सीमित बन्यो। उसका अन्द्रे क्यारिलोले दोहोरो पहेँलो कार्ड बेहोर्दै बाहिरिए।

खेलको ९० औँ मिनेटमा गाब्रियल एभालोसले गोल गर्दै पराग्वेलाई खेलमा फर्काए।

त्यसपछि थपिएको अतिरिक्त समयमा दुबैतिरबाट गोल हुन नसकेपछि खेल ३-३ को बराबरीमा सकिएको हो ।

पेरूले अब सेमिफाइनलमा ब्राजिल सँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.