चारजना सचिवमा बढुवा, प्रशासनतर्फ ३ सचिव पद रिक्त
काठमाडौं, १८ असार : नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डा दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको थियो । कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा आचार्यलाई सचिवमा बढुवा गरेको हो । बढुवा समितिले कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिवत्रय डा प्रसाद आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको थियो ।
इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई बढुवा गरिएको छ । इन्जिनियरिङ सेवातर्फ बज्राचार्यसहित सुशिलचन्द तिवारी र गोपालप्रसाद सिग्देलको नाम सिफारिस गरिएको थियो ।
प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस पाण्डेलाई सचिवमा बढुवा गरिएको छ ।
पाण्डेसहित मधुसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम सिफारिस गरेको थियो । डा रेग्मीको हकमा उनको मात्रै सिफारिस भएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रशासनतर्फ अझै तीन सचिव पद रिक्त छ । अब बढुवाको सिफारिस हुने लाइनमा सहसचिवहरु मधुसुदन बुर्लाकोटी, खगेन्द्र नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरेलगायत छन् ।
