भोलिको केन्द्रीय कमिटी बैठकमा नजाने खनाल–नेपाल समूहको निर्णय
काठमाडौं, १७ असार : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टीलाई ०७५ जेठ २ मा फर्काएको भनेपनि हिजोको निर्णयलाई स्वीकारेर अघि बढ्न नसक्ने निष्कर्ष बैठकले निकालेको एक नेताले जानकारी दिए ।
नेपाल पक्षले जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय गरेको जनाएकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी केन्द्रीय समिति ब्यूँताएका थिए । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा नेपाल पक्षको आपत्ति रहेको छ ।
२०७५ जेठ २ गते अघिको संगठनात्मक संरचनामा पार्टीलाई लैजानुको साटो महाधिवशेन आयोजक कमिटीलाई केन्द्रीय कमिटी मात्रै बनाइएको उनीहरुको भनाई छ ।
नेता नेपाल समूहको बटमलाइन अनुसार ओलीले हिजो बसेको बैठकले दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर भोलि केन्द्रीय कमिटीको बैठक राखेका थिए । बैठकमा उपस्थित हुन नेपाल समूहका सबै नेताहरूलाई पत्र पुगिसकेको छ ।
पार्टी एकताको पहल गर्दै दोस्रो तहका नेताहरू एकताको विन्दु पहिल्याउन लागि परेका छन् ।
