काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी

काठमाडौं, १३ असार : काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सोमबारमात्रै निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ बसेको थियो ।
आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरेका छन् । सो बैठकमा निषेधाज्ञालाई कसरी थप व्यवस्थित गर्ने बारेमा छलफल भएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए ।
सार्वजनिक यातायात खुलाउने सम्बन्धमा पनि प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका छन् । ‘सार्वजनिक यातायातको सवालमा हाम्रो छलफल भएको छ’ प्रजिअ पराजुलीले भने– ‘त्यसबारे सोमबार निर्णय लिन्छौं ।’ उनका अनुसार निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिन लागिएको छ ।
यसबारे सम्पूर्ण निर्णयहरू सोमबार बिहान १० बजे आदेश जारी गर्ने उनले बताए ।
त्यस्तै, सार्वजनिक यातायात पनि खुला गर्ने तयारी भएको छ ।
‘छलफलमा अहिलेकै अवस्थालाई निरन्तरता दिने कि अलिकति लुज डाउन गरेर लैजाने भन्ने भयो । लुज गर्दा सार्वजनिक यातायातहरूलाई सीमित गरेर चलाउन दिने तयारी छ,’ उनले भने ।
यसको टुंगो भोलिमात्रै लाग्ने प्रजिअ पराजुलीले बताए ।
उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो । थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिँदैछ । पछिल्लो निषेधाज्ञा थप्दा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर–विजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो ।
यी क्षेत्रमा कायमै हुनेछन् निषेधाज्ञा
प्रशासनले सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै रहनेछ । खुलास्थानमा धेरै मानिस भेला हुन पाइने छैन ।
सार्वजनिक स्थान र बाटोमा तरकारी तथा फलफूल बिक्री गर्न दिइनेछैन । शैक्षिक संस्थामा बन्द कायमै रहेछन् ।
खुकुलो गरिएका क्षेत्रमा पनि स्वास्थ्य मापदण्ड पालना भए, नभएको विषयमा अनुगमनलाई तीव्रता दिइने प्रशासन कार्यालयहरुले बताएका छन् ।
उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा असार ८ बाट थप खुकुलो बनाउँदै नीजि यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको थियो । उपत्यकामा बारको आधारमा पसल खुल्ला गरिएको छ ।
