निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७७९ सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं, १३ असार : पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने देशभरका १ हजार ७७९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये ४९४ वटा गाडी र १ हजार २८५ वटा मोटरसाइकल छन् । नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछपश्चात् छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोइ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २४९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ७६१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १०७ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १० हजार ७०० रुपैयाँ जरिवाना गरिएको छ ।

सो क्रममा २ हजार ३२५ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ६८ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ७२३ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायत सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.