सर्लाहीमा एक्साभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या, ठेकेदार र चालक पक्राउ

सर्लाही, १२ असार : सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ । इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शुक्रबार इश्वरपुर नगरपालिका वडा नम्बर-३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको इश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिए ।

तथापि पोखरीको विषयमा विवाद नभएर आपसी विवाद नै हत्याको कारण रहेको नगरप्रमुख देवकोटाले बताए ।

पोखरी सौन्दर्यीकरणको कार्य नगरपालिकाकै बजेटबाट भइरहेको थियो ।

सोही पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेक्केदार प्रेमराज दाहालसँगै पुगेका थिए ।

पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेको र त्यहीँ भनाभनबाट विवाद समेत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

खाजा खाँदासम्म पनि भनाभन जारी नै रहेपछि वडाध्यक्षले चालक तामाङलाई चप्पलले हिर्काएपछि रिसमा जेसिबीको बकेटले प्रहार गरेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको कुँवरले बताए ।

‘जेसिबी चालक तामाङले बकेटले वडाध्यक्षको टाउको र छातीमा प्रहार गरेर हत्या गरेको पाइएको छ,’ डीएसपी कुँवरले भने ।

हत्यापछि उनको शवलाई ठेकेदार र चालक मिलेर गाडेको र शव रातभरि खोजेपछि मात्रै शनिबार बिहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

प्रहरीले पोखरी सौन्दर्यीकरण कार्यका इश्वरपुर-३ कै दाहाल र जेसिबी चालक तामाङलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष श्रेष्ठको शवको पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.