फ्रान्स समूह विजेता, पोर्चुगल र जर्मनी पनि अन्तिम १६ मा

काठमाडौं, १० असार : युरो २०२० अन्तर्गत समूह ‘एफ’ बाट फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । यस्तै जर्मनी उपविजेता र साविक विजेता पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् ।

फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।

फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

रोमान्चक बनेको खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

Image

फ्रान्सका गोलकिपर ह्युगो लोरिसले पेनाल्टी क्षेत्रमा डानिल पेरीएरालाई फउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको हो । जसमा रोनाल्डोले सहजै गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए । पोर्चुगलका नेल्सन सेमिडोले केलियन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको हो ।

बेन्जिमाले फ्रान्सका लागि ५ वर्ष २ सय ५८ दिनपछि गोल गरेका हुन् । पछिल्लो पटक उनले फ्रान्सका लागि २०१५ को अक्टोबर ८ मा गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै फ्रान्सले अग्रता बनायो । पाउल पोग्बाको पासमा बेन्जिमाले ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए ।

तर, ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-२ गोलको बराबरीमा ल्याए ।  फ्रान्सका जुलेसले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरेका हुन् ।

यससँगै रोनाल्डोले पोर्चुगलका लागि  १ सय ९ औं अन्तराष्ट्रिय गोल पूरा गरे । उनले सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

यस्तै रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान समेत भङ्ग गरेका छन् ।

रोनाल्डोले क्लोजको नाममा रहेको दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेका हुन् ।

फ्रान्सविरुद्धको दुई गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २१ औं गोल पूरा गरे ।  ३६ वर्षीय रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् । यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए ।

Image

जारी युरोमा रोनाल्डोको यो पाँचौ गोल हो । रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन् ।

यस बराबरीसँगै समूह ‘एफ’ मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

यस अघि समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो । तर, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

अब फ्रान्सले अन्तिम १६ मा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

फ्रान्ससँगको बराबरीसँगै पोर्चुगलले ३ खेलमा ४ अंक जोड्यो । पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो ।

पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो । अब पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ ।

समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४-२ गोल अन्तरले पराजित भएको थियो ।

Imageयता समूहको अर्को खेलमा हंगेरी र जर्मनी पनि २-२ गोलको बराबरि खेले। हंगेरीलाई सुरुवाती अग्रता दिलाउने क्रममा सजालाईले ११ मिनेटमा पहिलो गोल गरे। तर ६६ मिनेटमा जर्मनीका हाभर्ट्जले बराबरी गोल फर्काउन सफल भए।

६८ मिनेटमा हंगेरीले स्चफरको गोलबाट खेलबाट दोस्रो पटक अग्रता लियो। तर ८४ मिनेटमा गोरेट्ज्काले जर्मनीका लागि बराबरी गोल गरे।

यससँगै फ्रान्स ५ अंक जोडेर समूह विजेता बन्यो। जर्मनी ४ अंक जोडेर समूह उपविजेता बन्दा ४ अंक नै जोडेको पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुग्यो। २ अंक जोडेको हंगेरी बाहिरियो।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.