दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी प्रधान थुनामुक्त

काठमाडौं, ९ असार : दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहल निवासी सरस्वती प्रधान रिहा भएकी छिन् ।

रुपा सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोपमा पक्राउ परेकी घरधनीलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा छाडिएको छ ।

रुपालाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको थियो । रुपाले दलित भएकै कारण कोठा नदिइको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

पक्राउ परेकी घरधनीलाई छुटाउन बुधबार शिक्षामन्त्री श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन् ।

उनलाई काठमाडाैं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा प्रहरीलाई नै फिर्ता गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता चन्द्रप्रसाद संजेलले थप अनुसन्धान गरेर ल्याउन भनिएको बताए ।

‘सरकारी वकिल कार्यालयले थप अनुसन्धान गरेर मानिसलाई फेरि अनुसन्धान प्रतिवेदनसाथ पेश गर्न भनेर पठाएका हौं । प्रहरीले मन लाग्यो भने राख्न पनि सक्छ, छोड्न मन लागे छाड्न पनि सक्छ र म्याद थपेर लिन पनि सक्छ,’ उनले भने, ‘अहिले फोरेन्सिक टेस्ट गर्नुपर्ने भएको छ । त्यसमा समय लाग्ने भएकोले अनुसन्धानमा नभ्याउला भनेर मानिसलाई आवश्यकताअनुसार हाजिर जमानी वा धरौटीमा छाड भनेको पनि हो ।’

यो विषयमा मुद्दा चल्ने/नचल्ने निर्णय भइनसकेको उनले बताए ।

यस मुद्दामा प्रहरीले जाहेरीवालाले पेश गरेको अडिओ रेकर्ड को कसको सीममा प्रयोग भएको हो र त्यसको प्रदायक कम्पनीबाट कागजातलगायत डिटेल लिएर आऊ र आवाजसहितको पहिचान गरी फोरेन्सिक रिपोर्ट पेश गर्न भनिएको उनले बताए ।

उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपमा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले उनलाई असार ६ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.