आज अन्तर्राष्ट्रिय योग दिवस ‘मानव सुस्वास्थ्यको लागि योग’ भन्ने नारा
काठमाडौं, ७ असार : आज जुन २१ तारिख अर्थात् सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो ।
अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गरेका थिए ।
यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् । संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ ।
योग दिवसका अवसरमा विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गर्ने भएका छन् । यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिने जनाइएको छ ।
योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ । यस वर्ष दिवसको नारा ‘मानव सुस्वास्थ्यको लागि योग’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ ।
नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ ।
भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ। शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण नै सुरु भएको छ ।
प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ। वर्षकै लामो दिनसमेत हुने आजको दिनलाई लिइन्छ ।
योग भनेको सही तरिकाले जिउने विज्ञान हो । अतः यसलाई हामीले आफ्नो जीवनमा सामेल गर्नुपर्नेछ । यो हाम्रो जीवनसँग जोडिएको भौतिक, मानसिक, भावनात्मक, आत्मिक र आध्यात्मिक सबै क्षेत्रमा काम गर्छ ।
यसैगरी योगको अर्थ हो, जोडिनु । मन र शरीर जोडिनु । मन र प्रकृति जोडिनु । मन र चराचर जगत जोडिनु । आध्यात्मिक हिसाबले योगको अर्थ हो सार्वभौमिक चेतना र व्यक्तिगत चेतना आपसमा जोडिनु हो । व्यवहारिक कोणबाट योग भनेको शरीर, मन र भावनालाई सन्तुलित गर्ने एवं तालमेल मिलाउने एक साधन हो । योगको यो एकता आसन, प्राणायाम, मुद्रा बँध, षट्कर्म र यानको अभ्यासबाट प्राप्त हुन्छ । त्यसैले योग एक जिउने तरिका हो र आफैमा परम उदेश्य पनि ।
योगले शारीरिक लाभ मिल्छ । त्यसपछि मानसिक र भावनात्मक स्तरमा यसबाट लाभ मिल्छ ।
गीतामा श्रीकृष्णले एक ठाउँमा भनेका छन्, ‘योगः कर्मसु कौशलम् ।’ अर्थात कर्ममा कुशलता नै योग हो । यद्यपि योगको अर्थ यो भन्दा वृहत र व्यापक छ । खासगरी पतञ्जलीले योगसूत्रमा यसको सटिक परिभाषा दिएका छन् । उनको परिभाषा यस्तो छ, ‘योगश्च्ित्तवृत्तिनिरोध ।’ अर्थात चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु योग हो । योगले आफुभित्र रहेका रोगलाई निरोध गर्न सक्छ ।
त्यसैगरी अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलतातर्फ, जीवनबाट ब्रम्हातर्फ, सीमितताबाट असिमिततातर्फको आध्यात्मिक यात्रालाई योग भनिएका छन् ।
योग भनेको शरीरलाई तन्काउनु, मर्काउनु, उफ्रिनु होइन । अर्थात शारीरिक व्यायाम मात्र पनि योग होइन । योगमा आसन, प्राणायाम र ध्यान जस्ता विधिहरु हुन्छन् । यी विधीहरुबाट हामीले मन, श्वास र शरीरको विभिन्न अंगबीच समान्जस्य बनाउन सक्छौं ।
योगको प्रकार
योगको मूख्य चार प्रकार छन्- राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।
यसैगरी योगको आठ अंग छन् । यसैले पतन्जलीले यसलाई अष्टांग योग भनेका हुन् । यसबारे योगसूत्रमा पतन्जलीले उल्लेख गरेका छन् । यस आठ अंगमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि छन् ।
यमको अर्थ हो, अहिंसा, सत्य, अस्तेय, ब्रम्हाचर्य तथा अपरिग्रह । यम अर्थात जसको अनुष्ठानबाट मन वा इन्दि्रय अशुभबाट हटाएर शुभमा संलग्न हुन्छ ।
नियमको अर्थ हो, अनुशासित जीवनयापन । अर्थात सौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणिधान ।
आसनको अर्थ हो, स्थिर तथा सुखपूर्वक बस्ने क्रिया ।
प्राणायामको अर्थ श्वास प्रश्वासको गति अनुभूत गर्ने र नियन्त्रण गर्ने अभ्यास । नाडी साधन र त्यसको जागरणका लागि गरिने श्वास र प्रश्वासको नियमन नै प्राणायम हो ।
पत्याहारको अर्थ इन्द्रियलाई वशमा राख्नु हो ।
धारणाको अर्थ मनलाई एकाग्रत्ति गरेर कुनै विषयमा ध्यान केन्दि्रत गर्नु हो ।
ध्यानको अर्थ विचारसून्य अवस्थामा रहनु हो ।
समाधिको अर्थ मोक्ष प्राप्त गर्नु हो ।
