गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

पोखरा, ४ असार : गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशसभामा विश्वासको मतमाथिको प्रस्तावमाथि भएको मतदानमा उनले ३१ मत प्राप्त गरे । जुन सरकार बनाउन आवश्यक मतभन्दा १ मत बढी हो ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा गत सोमबार सर्वोच्चले पदमुक्त गरेपछि गण्डकीको सांसद संख्या ५९ कायम भएको थियो । सांसद संख्या ५९ भएपछि सरकार जोगाउन ३० मत भएपनि पुग्छ ।

गत शनिबार संविधानको धारा १६८(५) अनुसार नियुक्त भएका मुख्यमन्त्री पोखरेलले ३१ मत पाए । उनले काङ्ग्रेसका १५, माओवादी केद्रको ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको २/२ तथा स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङेको) १ मत पाएका हुन ।

प्रतिपक्षमा रहेको एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गर्‍यो । विपक्षमा २७ मत पर्‍यो । गण्डकी प्रदेशसभामा ५८ जना सांसद मतदानमा सहभागी थिए ।

५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टीको २ सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई भने उनको दलले निष्कासन गरेका कारण पदमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.