अर्घाखाँची र प्युठान जोड्ने पक्की पुल बाढीले भत्कायो
अर्घाखाँची, ३ असार : झिमरुक नदीमा आएको बाढीका कारण अर्घाखाँची र प्युठान जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ । उक्त पुलले प्युठानको ऐरावती गाउँपालिका –१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका-७ चिउरेखोला जोड्छ ।
चार दिनदेखिको निरन्तर वर्षा र त्यसपछि आएको बाढीले पुलको पिल्लर बगाइदिएको सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर अरुण केसीले जानकारी दिए ।
उनले भने, ’चार दिनअघि ढलान भएको ३५ मिटर पुलको स्ल्याब भाँचिएको छ ।’
इन्जिनियर केसीका अनुसार प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुल ढलान गरिएको चार दिन मात्रै भएको थियो । त्यसको १४ दिनपछि बिममा जडित लट्टा तान्नुपर्ने थियो ।
संघीय सरकारबाट विनियोजित ७ करोड १२ लाख रुपैयाँमा निर्माण सम्झौता भएको डबल स्पानको ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो ।
भदौ महिनासम्म गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल बाढीले भत्काएको इन्जिनियर केसीले बताए । आर्थिक वर्ष २०७४/०७५ मा ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असार २८ गते सकिँदै थियो ।
पुल निर्माणपछि आवतजावतमा सहज हुने आशा गरेका स्थानीयले यस वर्षको वर्षामा पनि जोखिम मोल्नुपर्ने भएको स्थानीय टीकाराम आचार्यको गुनासो छ ।
