स्विट्जरल्याडलाई पराजित गर्दै इटाली नकआउट चरणमा

काठमाडौं, असार : टाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो ।

ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो ।

खेलको १९ औं मिनेटमा जर्जियो चेलीनीले गोल गरेका थिए । तर, गोल गर्नु अघि ह्यान्डबल गरेको कारण उनको गोलले मान्यता पाएन ।

तर, खेलको २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । डोमिनिको बेरार्डीको पासमा उनले गोल गरेका हुन् ।

त्यसपछि खेलको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । उनले निकोलो बरेलाको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई ३-० को जित दिलाए । उनले राफेलको पासलाई सदुपयोग गरे ।

यस जितसँगै इटालीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ ।

यससँगै समूह ‘ए’ को इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ । लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ ।

इटाली समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।

समूहको तेस्रो स्थानमा रहेको स्विजरल्याण्डको यो पहिलो हार हो । स्विजरल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।  स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.