कर्णाली प्रदेशले ल्यायो ३६ अर्ब ५४ करोडको बजेट घोषणा (पूर्णपाठ सहित)
सुर्खेत, २ असार : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे ।
पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ ।
यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।
दुर्गम क्षेत्रबाट जटिल प्रसुति अवस्था तथा आपतकालीन अवस्थाका बिरामीलाई हवाई उद्धार गर्ने कार्यक्रमसमेत बजेटमा राखिएको छ ।
कर्णाली प्रदेशले प्रत्येक घर स्वरोजगार कार्यक्रम घोषणा गरेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने योजना छ ।
प्रदेशमा ‘बोट र गोठमा लगानी गरौं’ भन्ने नारासहित प्राङ्गारिक खेती प्रवर्द्धनको योजना समेत घोषणा छ ।
कृषि प्राविधिक स्वरोजगार प्रवर्द्धन परियोजना सञ्चालन गर्ने भएको छ । ‘मेक इन कर्णाली’ लाई सरकारले विशेष प्राथमिकता दिने र यसमा जडिबुटी उद्योग स्थापना र प्रवर्द्धनको कार्यक्रम राखिएका छन् ।
प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ । प्रदेश अस्पताल सुर्खेतलाई ५०० शय्या, डोल्पा, मुगु र हुम्ला जिल्ला अस्पताललाई ५० शय्या, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान अस्पताललाई १०० शय्याका रुपमा स्तरोन्नति गर्ने योजना छ । प्रदेशका सबै जिल्लामा मिनी अक्सिजन प्लान्ट सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
त्यस्तै सबै नागरिकलाई निःशुल्क कोरोनाविरुद्धको खोप र प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबईमा सेन्सरसहितको हेल्थडेस्क राख्ने र प्रदेश सरकारले उत्कष्ट किसानलाई सुनको हलो अंकित तक्माले सम्मान गर्ने जनाएको छ ।
सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्याएको हो ।
