बबई सिँचाइ आयोजनाको काम अधुरै

बबई किनार हात्तीखालबाट शुरु गरिएको टिबिएम १२ किमी २१० मिटर पहाड छिचोल्दै भेरी किनार आइपुगेको सुर्खेतको भेरी बबई डाइभर्सन आयोजनाको सुरुङद्वार भेरीगंगा नगरपालिकाको चिप्लेस्थित ‘टनेल एक्जिट प्लेटफर्म’ । तस्बीर: प्रकाश अधिकारी, सुर्खेत

मेनका चौधरी । बाँके, १ असार : बर्दियास्थित बबई सिँचाइ आयोजनाको मूल नहरको शाखा, उपशाखा र तटबन्धको निमार्णको काम अधुरै रहेको छ । तीन वर्षअघि बेपत्तापुर, कुम्रागाउँ, ढुग्रही र गुरुवा गाउँको तटबन्धका लागि रु ३३ करोड ४२ लाखमा राजेन्द्र शर्मा जेभी धनगढीले ठेक्का लिएको थियो ।

आयोजनाअन्तर्गत गुरुवा गाउँको १ हजार १५० मिटर तटबन्धको काममध्ये ३० प्रतिशत मात्रै पूरा भएको छ । तीमध्ये कुम्रागाउँ र बेपत्तापुरको १ हजार १०० मिटरको काम करीब ९० प्रतिशत पूरा भएको छ । ढुग्रहीको ४५० मिटर तटबन्ध ६४ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।

तीन दशक अघि बर्दियामा शुरु भएको बबई सिँचाइ आयोजनाको नहर निमार्णको लागि काम अहिलेसम्म ५१ प्रतिशतमात्रै सम्पन्न भएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले कामले तीव्रता नपाएको  आयोजनाले जनाएको हो । कोरोना महामारीले समेत काममा बाधा भएको आयोजनाले जनाएको छ ।

विसं २०७१ सालमा आएको बाढीले ढुग्रहीमा ११ जनाको ज्यान गएको थियो भने यस क्षेत्रमा ९५ प्रतिशत घर डुबानमा पारेका थिए । यसै क्षेत्रमा तटबन्धको कामले गति नलिँदा पुनः बाढी र कटानको जोखिम बढेको स्थानीयवासी कालुराम थारूले बताए । बबई नदीको कटान क्षेत्र मानिएको जब्दीघाट र भैसाहीमा तटबन्ध ५० देखि ६५ प्रतिशत सकिएको छ । निर्माण कम्पनीले म्याद थपेको थपै गर्दा कामले तीव्रता पाएको छैन् ।  ठेकेदार कम्पनीले काममा चासो नदिँदा ढिलासुस्ती भएको स्थानीयले गुनासो गरेका छन् ।

चार वर्षअघि सम्पन्न हुने ३४ किमि पूर्वी मूल नहर गत जेठको पहिलो साता सकिएको छ । आयोजनाका भिजनल इन्जिनियर रामकृष्ण घोडासैनीले कोभिडका कारण आयोजनाको काम ढिलासुस्ती भएको बताए । पश्चिम नहर पनि काम भएको छैन् । जम्मा २८ किमी नहरको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७२ जेठ ६ गते सम्झौता भएको थियो । यस आवमा २८ किमीमध्ये २५ किमि सम्पन्न हुने आयोजनाले जनाएको छ ।

जग्गा अधिग्रहणको विवादले मूल नहरको काम हुन नसकेको आयोजना प्रमुख मधुकर राना मगरले बताए । पश्चिम मूल नहर ४३ किमि आव २०८२÷८३ मा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको काम सम्पन्न गर्न सरकारले रु १८ अर्ब ९६ करोड ३० लाख रकम स्वीकृत गरिसकेको छ । त्यसमध्ये हालसम्म आधा रकम खर्च भएर ५१ प्रतिशत काम भएको जानकारी आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.