आजदेखि नयाँ शैक्षिक सत्र, देशभर भर्ना अभियान सुरु

काठमाडौं, १ असार : विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि शैक्षिक सत्र सुरू गरे पनि पढाइ भने तत्काल नहुने जनाएको छ । कोरोना महामारी नै कायम रहेकोले भौतिक रूपमा विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाइ गर्न अझै केही समय लाग्ने भएको छ ।

यस्तै असार १५ सम्म विद्यार्थीका हातहातमा पाठ्यपुस्तक वितरण गरिसक्ने मन्त्रालयले जनाएको छ । शैक्षिक सत्रसँगै भर्ना अभियान सुरू भएको छ ।

यस्तै भर्चुअल माध्यमबाट पनि पठनपाठनको व्यवस्थापन मिलाइने मन्त्रालयले बताएको छ ।

सरकारले यसवर्ष माध्यमिक शिक्षा परीक्षा एसईई विद्यार्थीको आन्तरिक मूल्यांकनबाटै गर्ने भएको छ ।

साउन १५ भित्र एसईईको परीक्षाफल प्रकाशन गर्ने गरी तयारी गरिएको छ जसका लागि विद्यालयहरूले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर असार २० भित्र पठाइसक्नुपर्नेछ ।

साधारणतया वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्थ्यो । कोरोना महामारीले गर्दा असार १ देखि शैक्षिक सत्र सुरू गरिएको हो ।

मन्त्रालयले गत जेठ २३ मै विज्ञप्ति निकालेर असार १ देखि नयाँ शैक्षिक सत्र सुरू हुने उल्लेख गरेको थियो ।

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ । सामान्यतया सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब दुई सय दिन विद्यालय सञ्चालन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.