कोपा अमेरिका : ब्राजिलको शानदार सुरुवात

काठमाडौं, ३१ जेठ : आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद सुरुवात गरेको हो ।

स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २६ औं मिनेटमा रिचार्लीसनले गोल गरेपनि उनी अफसाइड रहदा गोलले मान्यता पाएन ।

खेलको ६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए ।

डानिलोलाई भेनेजुएलाका योहानले पेनाल्टी बक्स क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो । जसमा नेयमारले सहजै गोल गरे ।

ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो । पेलेको कीर्तिमान भन्दा नेयमार १० गोलले पछि रहेका छन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए । उनले नेयमारको पासमा गोल गरेका हुन् ।

यस जितसँगै समूह ‘बी’ मा रहेका ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ । भेनेजुएलाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

भेनेजुएला समूहको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.