खोपको व्यवस्था गर्न पेट्रोलियम ट्यांकर चालक संघको माग

काठमाडौं, ३० जेठ : कोरोना सङ्क्रमणविरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने संघले जनाएको छ ।

संघले आइतबार नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो । संघले दोस्रो लहरको सङ्क्रमणका कारण ट्याङ्कर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधनसमेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थको ढुवानी नगर्ने बताएका हुन् ।

संघका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र पठाउँदै थप सेवा प्रवाह गर्न असमर्थ रहेको भन्दै खोपको विशेष व्यवस्था गरी कार्य सञ्चालन गराउन आग्रह गरेका छन् ।

संघले दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाउँदै निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो । तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदा समेत बेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.