सुरक्षित रुपमा काम गर्ने गरौँ, लकडाउन खुकुलो बनाऔं

डा. रविन्द्र पाण्डे । काठमाडौं, ३० जेठ : कोरोना महामारीको दोस्रो लहर ओह्रालो लागेको छ । अब जनजीवन सामान्य बनाउने, लकडाउन खुकुलो बनाउने तर जनस्वास्थ्यका मापदण्ड कडाइ गर्नु जरुरी छ ।

नेपालमा संक्रमणदर ५० प्रतिशतको हाराहारीमा भएकोमा अहिले २५–३० प्रतिशतको हाराहारीमा झरेको छ भने मृत्युदर पनि घटिरहेको छ ।
कोरोना संक्रमणदरको तुलनामा निको हुने दर बढिरहेको छ । साथै अस्पतालमा बेड नपाउने स्थिति लगभग समाधान भएको छ भने अक्सिजनको पर्याप्तता बढेको छ ।

छिमेकी देश भारतमा महामारी घट्दो क्रममा रहेको हुँदा त्यसको नेपालमा पनि सकारात्मक प्रभाव देखिएको छ ।

अमेरिका, बेलायत, डेनमार्क लगायतका देशले खोप उपलब्ध गराउने प्रक्रियामा छन् । हाल जी ७ को बैठकमा अल्पबिकसित देशलाई खोप उपलब्ध गराउनु पर्ने एजेण्डा प्रमुख बनेको छ । नेपालले चीन, रुस, अमेरिका लगायत देशबाट खोप किन्ने प्रक्रिया अगाडि बढेको सम्बन्धित पक्षले बताएका छन् । साथसाथै कोभ्याक्स सुबिधा अन्तर्गत बिकासशिल मुलुकलाई खोप उपलब्ध गराउन भारत लगायत खोप उत्पादक मुलुकलाई दवाव परेको छ ।

अधिकांश नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गरेका छन् । हरेक क्षेत्रमा कसरी सुरक्षित भएर काम गर्ने भन्ने चेतना तथा सिप बिकास भएको छ ।

अस्पतालमा साधनस्रोतको उपलब्धता तथा स्वास्थ्य जनशक्तिको उपलब्धता बढेको अनुभव भएको छ ।

संक्रमण भएको थाहा नभएका वा परीक्षण नगरी होम आइसोलेसनमा निको भएका व्यक्तिको संख्या लाखौँ छ भने ती लाखौँ व्यक्तिको शरीरमा संक्रमणबाट एन्टिबोडी बनेको छ । उक्त एन्टिबोडीले पनि पुनः संक्रमण हुने वा संक्रमण भएका गम्भीर नहुने अवस्था छ ।

अब सरकारले जनताको रोग, भोक र शोकको सम्बोधन हुने गरी काम गर्ने बातावरण सिर्जना गर्नु उपयुक्त हुन्छ । जति सक्यो तत्काल ब्यबस्थापन गरेर आम नागरिकलाई अभियानको रुपमा खोप लगाउनु पर्दछ ।

हरेक टोल, गल्ली, चोक आदिमा ब्यापक प्रहरी परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड पालना गराउने र स्थानीय निकायबाट लकडाउनको मारमा परेका नागरिकलाई राहतको ब्यबस्था गरेर जवजीवन सामन्यीकरण तर्फ लग्नुपर्नेछ ।

यसका साथै हामी नागरिकले आफु तथा आफ्नो परिवारलाई संक्रमणबाट बच्नको लागि आफै सचेत भएर अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, दुरी कायम गर्ने, भीडभाडमा नजाने, बन्द कोठाका बैठक वा भेटघाट नगर्ने, हात सफा गरिरहने तथा पाएसम्म खोप लगाउनु पर्नेछ ।

यस्तै, काम गर्नु नपर्ने व्यक्ति सेल्फ लकडाउनमा बस्ने र काममा जाने व्यक्ति कामको लागि सुरक्षित रुपमा जाने र आउने गर्ने । सकेसम्म अनाबश्यक ठाउँमा नजाने र स्वस्थ जीवनशैली अबलम्बन गर्ने ।

सबैले आफ्नो तथा आफ्नो परिवारलाई संक्रमणबाट बचाउने कोशिश गर्ने हो भने महामारीको तेस्रो लहर रोक्न सकिन्छ । सकेसम्म सबै पक्षले कोरोना नियन्त्रण तथा रोकथामको लागि हातेमालो गरौँ, कोरोनामुक्त नेपालको लागि पहल गरौं ।

(डा रविन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.