उपत्यकाकाे निषेधाज्ञा पुन: एक हप्ता थप्ने तयारी

काठमाडौं, ३० जेठ : कोरोनाभाइरसको संक्रमणलाई न्यूनीकरण गर्न जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन् ।
निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बैठकमा बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार आइतबार दिउँसो दुई बजे बैठक बस्न लागेको हो ।
अहिले जारी निषेधाज्ञा सोमबार सकिँदैछ । त्यस अगावै छलफल गरेर आदेश जारी गर्ने प्रशासनको तयारी छ ।
जारी निषेधाज्ञालाई खुकुलो बनाएर एक हप्ता लम्ब्याउनेबारे छलफल हुने प्रजिअ पराजुलीले बताए ।
‘भोलिसम्मको समय छ । अब यो निषेधाज्ञा बढाउने कि के गर्ने भन्नेबारेमा छलफल हो,’ भट्टले भने, ‘खुकुलो पारेर एक हप्तासम्म बढाउनेबारेमा पनि छलफल हुनेछ । पसलहरू खुल्न दिने कुरा छ ।’
हाल जारी निषेधाज्ञामा बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएको छ । अब भने एक घन्टा थपेर १० बजेसम्म खुल्न दिने प्रशासनले तयारी थालेको छ ।
स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भीडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाइ जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को ठहर छ ।
यसमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र रहन्छ । त्यसमा स्थानीय निकाय, स्वास्थ्यका प्रतिनिधिलगायत सरोकारवालाहरू रहन्छन् ।
काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरी उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने बताएका छन् । ‘‘उपत्यकाको संक्रमणदर घट्दै गएको छ । अब जनजीवनमा सहजीकरण गर्दै लैजानुपर्छ,” मेयर शाक्यले भने, ‘‘उपत्यकाका सवारी आवागमन हुने नाकामा कडाइ गरिनुपर्छ । निषेधाज्ञा एकैपटक नखोली चरणवद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्छ ।”
यसैगरी, एकै पटक निषेधाज्ञा खुकुलो पार्दा फेरी संक्रमण फैलिने सक्ने जोखिम रहेकाले गृह मन्त्रालयले तत्काल निषेधाज्ञा हटाउन नहुनेमा जोड दिएको छ । जिल्ला प्रशासन कार्यालय भने निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज बनाउनु पर्नेमा सकारात्मक देखिएका छन् । तर, कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे थप निर्णय नभइसकेको र निरन्तर सरोकारवालाहरुसँग छलफलमै रहेको प्रशासनका अधिकारीहरुले बताएका छन् ।
निषेधाज्ञा वा लकडाउन स्थानीय प्रशासन ऐनअन्तर्गत जारी गरिने गरिएको छ ।
काठमाडौं उपत्यकामा प्रशासनले निषेधाज्ञा लगाएको डेढ महीना नाघिसकेको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि ३१ गते (सोमबार) राति १२ बजे सकिँदैछ ।
