वैद्यको अभिव्यक्ति आपराधिक, आपत्तिजनक र निन्दनीय : एमाले

काठमाडौं, २९ जेठ : नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन् ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’ विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानी बढेको भन्दै उनको लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको विवादास्पद अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए । वैद्यले आवश्यक परे देशको लागि आफैँ नाथुराम गोड्से बन्न पनि तयार रहेको अभिव्यक्ति दिएपछि उनको चौतर्फी विरोध भएको छ ।

भावनामा बहकिएँ, आत्मालोचना सहित अभिव्यक्ति फिर्ता लिन्छु: नरोत्तम वैद्य

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताएका छन् । आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने उनले बताएका हुन्‌ ।

‘विहान ११ बजे बस्ने बैठकमा मैले सभामुखसँग समय मागेको छु’, वैद्यले भने, अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्छु ।’ प्रधानमन्त्रीका पछिल्ला व्यवहारले भावनामा बहकिएर आफूले त्यस्तो अभिव्यक्ति दिन पुगेको भन्दै उनको प्रष्टिकरण छ ।

‘उहाँमा आफूबाहेक अरूलाई नस्वीकार्ने प्रवृत्ति बढ्दै गएको छ’, वैद्यले भने, ‘संविधान र कानून सबै मिचेर हिँड्नुभएको छ, त्यसैले मैले बोल्ने क्रममा भावनामा बहकिएको हुँ ।’

शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा वैद्यले प्रधानमन्त्री केपी ओलीले मनलाग्दी गरेको भन्दै नाथुराम गोड्से आवश्यक परेको र कोही बन्न तयार नभए आफैँ बन्ने बताएका थिए । ​नाथुराम गोड्से महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने व्यक्ति हुन् ।

चौतर्फी आलोचना भएपछि कांग्रेसले उनलाई तत्काल अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जानकारी दिएका हुन् ।

बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.