उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी, ३१ गते निर्णय हुने

काठमाडौं, २८ जेठ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी ३१ गते सकिँदैछ । असारबाट निषेधाज्ञा खुुकुलो बनाउनुपर्ने सरोकारवालाहरुको सुझाव छ भने कतिपयले अझै थप्न सुझाव दिएका छन् ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले यस विषयमा अहिले केही निर्णय लिएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आगामी ३१ गते (सोमबार) बैठक बसेर निषेधाज्ञाबारे निर्णय लिने बताए ।

‘जारी निषेधाज्ञाको समय अझै सकिएको छैन,’उनले भने,‘अब निषेधाज्ञा थप्ने कि विस्तारै खुकुलो पार्दै जाने भन्ने विषयमा बैठक बसेपछि मात्रै निर्णय लिन्छौँ ।’

‘कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले यही परिस्थितिमा निषेधाज्ञालाई जारी राख्नुपर्ने रायसुझाव आएको छ,’ । ‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिन्छ,’ पराजुलीले भने।

उनका अनुसार तीन वटै जिल्ला प्रमुखहरुले अझै संक्रमण जोखिम कायम रहेकोले एक साता निषेधाज्ञा थप्ने कुरामा छलफल गरिरहेका छन् भने विस्तारै जारी निषेधाज्ञालाई खुकुलो बनाई सर्वसाधारणको दैनिकी सहज बनाउने विषयमा पनि छलफल गरिरहेका छन् ।

नेपालमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गत वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरेको गरेको थियो ।

त्यसपछि संक्रमण नघटेकाे भन्दै तीन वटै जिल्ला प्रमुख अधिकारीहरुले पटक-पटक निषेधाज्ञा थप्दै गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.