गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिँदै
पोखरा, २७ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका छन् ।
गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेको हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ। तर यहाँ मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सांसद छन् ।
विपक्षी गठबन्धनले मुख्यमन्त्रीबाट गुरूङको विकल्प खोजेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपाले अगाडि सारे पनि जनमोर्चाका ३ सांसद एकजुट छैनन् ।
विपक्षी गठबन्धनले पनि बहुमत जुटाउन गाह्रो छ । विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन एक मत आवश्यक छ ।
प्रदेशमा माधवकुमार नेपाल पक्षका एक जना मात्रै सांसद छन् । उनले मुख्यमन्त्री गुरूङलाई नै सघाउने यसअघि बताइरहेका थिए ।
विपक्षी गठबन्धनले बुधबार मुख्यमन्त्री गुरूङलाई मत नदिन आफ्ना सांसदलाई निर्देशन दिएका थिए ।
प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चा ३, जसपाका २ र स्वतन्त्र एक सांसद छन् ।

सत्ता र विपक्षी कसैले पनि बहुमत नजुटाए मध्यावधि निर्वाचनमा जान सक्ने आँकलनसमेत भइरहेका छन् ।
