यसकारण हुन् सक्छ भदौमा पनि कांग्रेस महाधिवेशन कठिन
काठमाडौं, २७ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन।तर महाधिवेशनको तयारीमा जुट्नुपर्ने पार्टीका शीर्ष नेताहरू नै भदौमा महाधिवेशन गर्न नसकिने जनाउँदै विकल्प खोज्न अनौपचारिक छलफलमा जुटेका छन्। महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता विवाद टुंगो लगाउन लाग्नुपर्ने नेताहरू नै त्यसमै अड्को थापिरहेका छन्। जसले गर्दा बारा, बर्दिया, सप्तरी, भोजपुर, सिन्धुपाल्चोकसहितका कतिपय जिल्लामा अझै क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढ्न सकेको छैन।

अहिलेसम्म ४ लाख १९ हजार ९ सय ३९ नयाँसहित ८ लाख ३ सय १७ जनाले क्रियाशील सदस्यताका लागि आवेदन दिएका छन्। सदस्यता छानबिन समितिले त्यसको अन्तिम टुंगो लगाउने प्रक्रिया अझै थालेको छैन। महाधिवेशनको कार्यतालिकाअनुसार यसअघि नै सदस्यता छानबिनको काम टुंगो लागिसक्नुपर्ने थियो। अहिलेसम्म सदस्यता छानबिनको काम ठोसरूपमा अघि बढ्न सकेको छैन।
नेता रामचन्द्र पौडेलसहितका संस्थापन इतर पक्षका नेता भने कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने भन्दै नेतृत्वमाथि दबाब बढाउन थालेका छन्। जुनकुनै हालतमा पनि भदौभित्र महाधिवेशन गर्नुपर्ने बताउँदै नेता पौडेलले भने, ‘भदौभित्र कांग्रेस महाधिवेशन अनिवार्य छ। महाधिवेशन नगरे कांग्रेस सकिन्छ।’
यो समाचार नागरिकका दैनिकमा छ।
