कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

सुर्खेत, २३ जेठ : कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाली कांग्रेसकातर्फबाट मन्त्री बनेका दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रेष्ठलाई जलश्रोत तथा उर्जा विकास र बिसीलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् । कांग्रेस कणाली प्रदेशबाट सरकारमा सहभागी भएको हो ।

सत्ता साझेदार नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी बन्नका लागि काँग्रेस संसदीय दलले शुक्रबार २ जनाको नाम सिफारिस गरेको थियो । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता काँग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएपछि २०७४ को निर्वाचनपछि काँग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग सत्ता साझेदार गरेको हो ।

मन्त्री बनेका दुई सांसदलाई कांग्रेसले आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मितव्ययिता, सादा जीवनशैली अपनाउनु पर्ने विषय उल्लेख भएको आचारसंहितामा हस्ताक्षर गराएको छ ।
सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाउने काँग्रेसले जनाएको छ । दुई मन्त्री थपिए सँगै कर्णाली प्रदेश सरकारमा ८ जना मन्त्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.