पाल्पाका किसानलाई मौरी र घार वितरण
पाल्पा, २३ जेठ : पाल्पाका किसानलाई घारसहित मौरी वितरण गरिएको छ। व्यावसायिक मौरीपालन गर्न इच्छुक किसानलाई स्थानीय सरकारले घारसहित मौरी अनुदानमा प्रदान गरेका छन् ।
रम्भा गाउँपालिकाले वडा नम्बर २ फोक्सिङकोटस्थित रानीबास र झर्लेङका किसानलाई अनुदानमा घारसहित मौरीगोला वितरण गरेको अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । यहाँका ३० जना किसानलाई वितरण गरिएको छ। प्रतिकिसान दुईवटाका दरले घारसहितको मौरी गोला प्रदान गरेको उनले बताए । छिमेकी बगनासकाली गाउँपालिकाबाट खरिद गरी ल्याएको र किसानलाई अनुदानमा वितरण गरिएको हो ।
वडाध्यक्ष भण्डारीका अनुसार एउटा घारसहितको मौरी गोलालाई सात हजार पाँच सय रुपैयाँमा खरिद गरिएको हो । किसानको घरसम्म गाउँपालिकानै ढुवानीको व्यवस्था मिलाएको छ । मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमअन्तर्गत घारसहित मौरीगोला वितरण गरिएको हो । यो कार्यक्रमको लागि चार लाख बजेट प्राप्त भएको थियो ।
यहाँका किसानले परम्परागत रुपमा मौरीपालन गर्दै आएका थिए । यस क्षेत्रको वातावरण मौरीपालनको लागि उपयुक्त रहेको उनले बताए । हरियाली जंगल, मौरीका लागि पर्याप्त चरण क्षेत्र भएको, कुनै पनि विषादी प्रयोग नगरिएको ठाउँ भएकाले यहाँका किसानलाई मौरीपालन व्यवसायमा प्रोत्साहित गरेको वडाध्यक्ष भण्डारीले बताए । यहाँ उत्पादन भएका मह प्रतिलिटर एक हजार रुपैयाँमा बिक्री हुँदै आएको छ ।
यस्तै, तिनाउ गाउँपालिकाले ५० भन्दा बढी किसानलाई घारसहित मौरीगोला वितरण गरेको छ । किसानको मागअनुसार ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए । गाउँपालिकाको वडा नम्बर ६ मस्यामस्थित चिदीसका १८ जना किसानलाई वितरण गरिएको छ । यस्तै, पाटनका १८ जना किसानलाई पनि घारसहित मौरी गोला वितरण गरिएको छ । ओखलढुंगाका १५ बढी किसानलाई पनि वितरण गर्ने तयारी भइरहेको उनले बताए ।
रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीबाट खरिद गरेर घारसहित मौरीगोला ल्याइएको थियो । गाउँपालिकाले मौरीपालन व्यवसायको लागि साढे तीन लाख बजेटनै विनियोजन गरेको घर्तिमगरले बताए । यहाँ उत्पादित मह बिक्री गर्न बुटवल बजार नजिकै रहेकाले पनि यो व्यावसायबाट यहाँका किसानले मनग्य आम्दानी गर्न सक्ने घर्तिमगरको अनुमान छ ।
एक वर्षमा एउटा घारबाट तीन पटक मह निकाल्न सकिन्छ। एक पटकमा कम्तीमा ८ किलोग्राम मह निकाल्न सकिने रम्भा गाउँपालिका कृषि शाखा प्रमुख रमेश गेलाङले बताए । दुईवटा घारबाट वर्षमा एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेछ । मौरी पालन व्यवसायको लागि बढी परिश्रम गर्नु नपर्ने गेलाङले बताए। उनकाअनुसार मौरी पालनसम्बन्धी किसानलाई यसअघिनै तालिम पनि दिइएको छ । चैत, जेठ र कात्तिक महिनामा मह काढ्नको लागि उपयुक्त समय मानिन्छ । साढे एक महिनामा मौरीगोला विभाजन गर्न सकिन्छ । विभाजन गरिएको मौरीगोला बिक्री गर्न सकिने उनले बताए ।
