महतोको अभिव्यक्ति विरुद्ध एमालेका १५ नेताको संयुक्त वक्तव्य
काठमाडौं, २२ जेठ : उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोको अभिव्यक्तिप्रति नेकपा एमालेका १५ नेताले विरोध गरेका छन् ।
माधव कुमार नेपालसहितका १५ नेताले शनिबार एक संयुक्त वक्तव्य जारी गरी महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै नेताहरुले आपत्ति जनाएका छन् ।
विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनःदोहोर्याई राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।
‘यस्तो अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपाल राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध रहेको ठहर गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
महतोको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नुपर्ने माग पनि नेताहरुले गरेका छन् ।

