प्रदेश मन्त्रिमण्डल विस्तार : चार राज्यमन्त्री नियुक्त

प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राई विराटनगरमा आइतबार नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै । तस्विर: मनोज दाहाल

विराटनगर, ५ माघ : प्रदेश नंं १ को मन्त्रिमण्डलमा आज चार जना राज्यमन्त्री थप गरी विस्तार गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्यहरुलाई राज्यमन्त्री नियुक्त गर्न सिफारिस गर्नु भएअनुसार चार राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

नियुक्त हुने राज्यमन्त्रीमा रामबहादुर मगर भूमि व्यवस्था कृषि तथा सहकारी, अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास, जसमाया गजमेर सामाजिक विकास र विजयकुमार विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहनुभएको छ ।

मुख्यमन्त्री राईले नवनियुक्त राज्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ गराउनुभयो । नवनियुक्त राज्यमन्त्री मगर इलाम, गुरुङ ओखलढुङ्गा, गजमेर झापा तथा विश्वास मोरङ जिल्लाका हुनुहुन्छ ।

समृद्धिको चाहना पूरा हुने काम गर्नुस् : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पूरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री राईले मन्त्रीसहित आज नियुक्त हुनुभएका राज्यमन्त्रीहरुलाई प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै अग्निपरीक्षा शुरु भएको भन्दै यो ऐतिहासिक कार्यभार सफल रुपमा बहन गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राईले दुई दिनभित्र प्रस्टरुपले कार्य विभाजन गरेर काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिँदै काममा कुनै किसिमको अल्मलिनु हुँदैन भन्नुभयो ।

उहाँले भ्रष्टचारमा शून्य सहनशीलताको नीति अख्तियार गरेको बताउँदै कामलाई छिटो, छरितो र पारदर्शी ढङ्गले अगाडि बढाउन मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिनुभयो । मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम चार जना प्रदेशसभा सदस्यहरुलाई राज्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो ।

रामबहादुर मगरलाई भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, अम्बिर बाबु गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर (विश्वकर्मा)लाई सामाजिक विकास मन्त्रालय र विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.