प्रदेश सवारी तथा यातायात विधेयक पेश
विराटनगर, १२ भदौ : प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ पेश भएको छ ।
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पेश गर्नुभएको थियो । मन्त्री कार्कीले १८१ दफा ११ परिच्छेद र सात अनुसूची रहेको सो विधेयकले प्रदेशअन्तर्गतका सवारी तथा यातायातका सबै समस्या समाधान हुने बताउनुभयो ।
प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवा लिम्बूले ‘विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’को प्रतिवेदन सदनमा पेश गर्नुभयो ।
विशेष समय
नेपाली काङ्ग्रेसका सचेतक सूयर्माराज राईले मोरङको कानेपोखरी, बेलबारी र पथरी क्षेत्रका सुकुम्वासीका समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । विगत लामो समयदेखि समस्याग्रस्त सो क्षेत्रमा सट्टाभर्ना, दोहरो स्वामित्व, भूमिहीन, चुरे दोहन र चिस्याङ तथा बक्रहा नदीमा कटानजस्ता समस्या रहेकाले यो अविलम्ब समाधान गर्न प्रदेश सरकारसँग उहाँले अनुरोध गर्नुभयो ।
शून्य समय
सदस्य कृष्णकुमारी राईले आदिवासी जनजातिले प्राप्त गरेको अधिकार कटौती भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । सदस्य केदार कार्कीले विराटनगरस्थित सत्यनारायण मन्दिरको जग्गा अतिक्रमण एवं हिनामिना भइरहेकाले यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
सदस्य विमल कार्कीले कृषि मन्त्रालयले किसानका लागि अनुदान दिन निकालेको सूचनाले वास्तविक किसान लाभान्वित हुन नसक्ने भएकाले निर्देशिका सच्याउनु पर्ने माग गर्नुभयो । सदस्य श्रीप्रसाद मैनालीलेले नेपाल भारतमैत्री सेवा सञ्चालनका विषयमा राजधानीदेखि राजधानी सञ्चालन हुनुपर्ने यातायात नेपाल भूमि नजिकै भारतको सिलीगुढीबाट सञ्चालन भएको यातायातबाट नेपाली व्यवसायी मर्कामा पर्नेमा चिन्ता व्यक्त गर्नुभयो ।
सदस्य सञ्जाकुमारी दनुवारले लोकसेवा आयोगले आदिवासी र जनजातिले पाउने कोटा हटाएकामा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य सर्वध्वज साँवा लिम्बूले सडकमा रहेका खाल्डाखुल्डीले सडक दुर्घटना भइरहेकाले यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभयो । प्रदेशसभाको अर्को बैठक यही भदौ १८ गते दिउँसो १ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।
